चुरा–पोते व्यापारको स्वरूप फेरियो, अनलाइनको प्रभाव बढ्दो

News Portal Team अन्य
चुरा–पोते व्यापारको स्वरूप फेरियो, अनलाइनको प्रभाव बढ्दो

चुरा–पोते व्यापारको स्वरूप फेरियो, अनलाइनको प्रभाव बढ्दो 

काठमाडौं । साउन महिनालाई हरियालीको महिना पनि भन्ने गरिन्छ । यो महिनामा हरियो चुरा, हरियो पोते, हरियो लुगा र हातमा मेहन्दी लगाउने चलन छ । खासगरी साउनलाई पवित्र महिनाका रूपमा समेत लिने सनातन परम्परा छ । 

साउन सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौंमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार अघिल्लो वर्षको तुलनामा यस वर्ष घटेको इन्द्रचोकका व्यापारीहरुको गुनासो छ । 

सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम भएपनि यस वर्ष बजारमा चुरापोते र मेहन्दीको व्यापार घटेको उनीहरुको भनाई छ ।

नेपाल न्यूज बैंकको कुराकानीमा इन्द्रचोकस्थित पोते बजारका व्यवसायीहरूले व्यापारको स्वरूप परिवर्तन हुँदै गएको बताए । बजारमा पहिलेजस्तो भीडभाड नदेखिए पनि गुणस्तरीय सामान खोज्ने ग्राहक आउनेक्रम भने कायम रहेको उनीहरूको भनाइ छ । साथै, अनलाइन कारोबार बढ्दै जाँदा व्यापार गर्ने शैली पनि परिवर्तन भएको उनीहरूले बताएका छन् ।

करिब १२–१३ वर्षदेखि पारिवारिक रूपमा पोते व्यापार गर्दै आएका व्यवसायी काली मुदिनका अनुसार इन्द्रचोकमा पहिलेजस्तो भीड नदेखिए पनि व्यापार सन्तोषजनक छ । उनका अनुसार अहिले धेरै कारोबार अनलाइनमार्फत हुने भएकाले बजारमा ग्राहकको चहलपहल कम देखिए पनि व्यापार भने निरन्तर भइरहेको छ ।

उनले भने, ‘मैले गर्न थालेको चाहिँ १२–१३ वर्ष भयो । मेरो यो फेमिली बिजनेस नै हो। पहिला हाम्रो दाइभाइहरूले त्यति पोतेको व्यापार गर्दैन थिए । अब अहिले धेरै ठाउँमा पोतेको वयापार गरिरहेका छन् ।’

उनले पछिल्ला वर्षहरूमा नेपाली समुदायमा पनि पोते लगाउने चलन बढ्दै गएको बताए । इन्द्रचोकमा पोते, चुरालगायतका सामग्रीको छुट्टाछुट्टै व्यापारिक क्षेत्र विकास भएको उल्लेख गर्दै उनले नयाँ डिजाइनका सामग्रीप्रति ग्राहकको आकर्षण बढिरहेको बताए ।

उनले भने, ‘व्यापार राम्रै भइरहेको छ । पहिला जस्तो भीड त हुँदैन । व्यापार चाहिँ राम्रो छ । डिजिटल व्यापार भएकाले पनि अनलाइनमार्फत पनि पठाउँछौं । तर ग्राहकहरु क्वालिटी खोज्नका लागि इन्द्रचोक आउने गर्छन । 

मुदिनका अनुसार इन्द्रचोकमा बिक्री हुने पोतेका सामग्री मुख्यतः चेक रिपब्लिक, जापान र चीनबाट आयात हुन्छन् । ग्राहकको आवश्यकता र मूल्यअनुसार सस्तोदेखि महँगासम्मका सामग्री उपलब्ध हुने उनको भनाइ छ । सुनका गरगहनासँग प्रयोग हुने भएकाले धेरै ग्राहक गुणस्तरीय पोते खोज्दै इन्द्रचोक आउने उनले बताए । 

उनका अनुसार पोते तथा मालाको मूल्य डिजाइन, कलात्मकता र उत्पादन प्रक्रियाअनुसार फरक–फरक हुन्छ । सामान्य डिजाइनका माला २०–५० रुपैयाँदेखि उपलब्ध भए पनि हस्तकलायुक्त तथा विशेष डिजाइनका सामग्री महँगा पर्ने उनले बताए ।

मुदिनले दशैंको समयमा सबैभन्दा बढी व्यापार हुने जानकारी दिए । उनका अनुसार तीजमा रातो तथा हरियो पोते, साउनमा विशेष डिजाइनका माला र विवाहको लगनमा पनि व्यापार बढ्ने गर्छ । वर्षभरमध्ये दुई–तीन महिना मात्र अफसिजन रहने उनको भनाइ छ ।

यता, इन्द्रचोककै अर्की व्यवसायी ज्ञानु मोक्तानले भने पछिल्लो समय व्यापारमा उल्लेखनीय गिरावट आएको बताइन् । उनका अनुसार पहिलेको तुलनामा ग्राहकको संख्या निकै घटेको छ ।

मोक्तानले आर्थिक मन्दी, भारतबाट सामान आयातमा आएको कमी तथा अनलाइन व्यापारको विस्तारले परम्परागत पसलहरू प्रभावित भएको बताइन् । उनका अनुसार ग्राहकलाई घरमै सामान पुर्याउने अनलाइन सेवाका कारण भौतिक पसलमा आउने ग्राहक घटेका छन् । आफूहरूको अनलाइन कारोबारको व्यवस्था नभएकाले त्यसको प्रत्यक्ष असर व्यापारमा परेको उनको भनाइ छ ।

उनले भनिन्, ‘एकदमै कम व्यापार भइरहेको छ । यसपालि अझ धेरै कम छ । आर्थिक मन्दी भएको हो कि, नयाँ सिस्टमले हो कि, अन्योलता छ । सामान पनि खासै आएको छैन् । खास पसलहरूमा बिजनेस नहुनुमा अनलाइनले गर्दा पनि होला । घर–घरमै पुर्याउने प्रचलन पनि छ ।’

उनले अहिले सबै उमेर समूहका ग्राहक आउने गरे पनि पहिलेजस्तो किनमेल नहुने बताइन् । कतिपय ग्राहकले पूरानै चुरा प्रयोग गर्ने भएकाले नयाँ खरिद घटेको उनको अनुभव छ ।

चुरा महिलाले नियमित रूपमा प्रयोग गर्ने सामग्री भएकाले वर्षभर केही न केही व्यापार भइरहे पनि अघिल्ला वर्षहरूको तुलनामा कारोबार उल्लेखनीय रूपमा घटेको उनले बताइन् ।

यसैगरी इन्द्रचोकका अर्का व्यवसायी शिवकुमार गौतमले पनि पछिल्ला तीनदेखि चार वर्षयता पोते तथा चुराको व्यापार निरन्तर ओरालो लागेको बताए । उनका अनुसार बजारमा ग्राहकको चहलपहल अत्यन्तै घटेकाले दैनिक खर्च धान्नसमेत कठिन हुन थालेको छ ।

करिब १५ वर्षदेखि पारिवारिक व्यवसायमा संलग्न गौतमका अनुसार अहिलेको व्यापार अघिल्ला वर्षहरूको तुलनामा निकै कमजोर अवस्थामा पुगेको छ । दैनिक नुन–तेलको खर्च धान्न मात्र पुग्ने आम्दानी भइरहेको भन्दै उनले पसलको भाडा तिर्नसमेत समस्या भइरहेको बताए ।

उनका अनुसार कोरोना महामारीपछि केही समय व्यापारमा सुधार देखिएपनि त्यसयता बजार क्रमशः सुनसान बन्दै गएको छ । आर्थिक मन्दी, बजारमा देखिएको नगद अभाव तथा बढ्दो महँगीका कारण उपभोक्ताको क्रयशक्ति कमजोर हुँदा व्यापारमा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।

गौतमले सामानको मूल्य बढेपनि ग्राहकको संख्या भने नबढेको बताए । उनले पछिल्लो समय उपभोक्ता अनलाइनमार्फत किनमेल गर्न आकर्षित भएकाले परम्परागत पसलको व्यापार थप प्रभावित भएको उल्लेख गर्दै अब आफूहरू पनि अनलाइन कारोबारतर्फ जानुपर्ने आवश्यकता महसुस भएको बताए ।

राजधानीका विभिन्न बजारमा हरियो चुरा र पोतेका नयाँ डिजाइन तथा विभिन्न मूल्यका सामग्री बिक्रीवितरणमा राखिएका छन् । ग्राहकको रोजाइलाई ध्यानमा राखेर स्वदेशी तथा आयातित दुवै प्रकारका चुरा र पोते बिक्रीका लागि राखिएको छ ।

इन्द्रचोकको पोते तथा चुरा बजारमा ग्राहकको चहलपहल अघिल्ला वर्षहरूको तुलनामा केही कम देखिए पनि किनमेलका लागि आउने उपभोक्ताको रोजाइ भने अझै पनि गुणस्तरीय सामग्रीमै केन्द्रित देखिन्छ । बजारमा पुग्ने ग्राहकहरू मूल्य वृद्धि भए पनि संस्कार, परम्परा र गुणस्तरलाई प्राथमिकता दिएर सामग्री खरिद गर्ने गरेको बताउँछन् ।

पोते तथा चुरा खरिद गर्न इन्द्रचोक पुगेकी बिमला रामदामका अनुसार अहिले बजारमा उपलब्ध सामग्रीको गुणस्तरप्रति आफू सन्तुष्ट छिन् । उनका अनुसार सामानको छनोट व्यक्तिको सोच र रुचिअनुसार फरक–फरक हुने भए पनि नेपाली समाजमा पोते र चुरा फेसनका सामग्री मात्र नभई धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएका बताइन् ।

हिन्दु संस्कारअनुसार विवाहित महिलाले पोते र चुरा लगाउने चलन रहेकाले यसको प्रयोग निरन्तर रहँदै आएको उनको भनाइ छ । उनले बजारमा नयाँ डिजाइनसँगै गुणस्तरीय सामग्रीको माग बढिरहेको बताइन् ।

यस्तै, अर्की ग्राहक मिना बराइलीले भने पछिल्लो समय पोते तथा चुराको मूल्य बढेको अनुभव सुनाइन् । उनका अनुसार व्यापारीहरूले चीनको मुद्रा विनिमय दर (करन्सी) बढेका कारण आयातित सामग्रीको मूल्य वृद्धि भएको जानकारी दिएका छन् त्यसकै प्रभाव उपभोक्ताले तिर्नुपर्ने मूल्यमा परेको उनको भनाइ छ ।

बराइलीका अनुसार नेपाली समाजमा पोते र चुरा फेसनभन्दा पनि संस्कार र धार्मिक परम्पराको प्रतीकका रूपमा प्रयोग गरिन्छ । विदेशीहरूले रहरका लागि प्रयोग गरे पनि नेपाली महिलाले हिन्दु संस्कार र सामाजिक मान्यताअनुसार पोते तथा चुरा लगाउने परम्परा आज पनि कायम रहेको उनले बताइन् ।

हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा लिने गरेका छन् । हिन्दू महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनमा महिला हातमा मेहेन्दीसँगै हरियो चुरा र तथा पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरुले पहेँलो वस्त्र लगाउने गर्छन् ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्