‘गौंथली’मा मदनकृष्ण श्रेष्ठ र डा.रिजालबिच मिलेको केमेष्ट्री, रोचक छ अनुभव

News Portal Team मनोरञ्जन
‘गौंथली’मा मदनकृष्ण श्रेष्ठ र डा.रिजालबिच मिलेको केमेष्ट्री, रोचक छ अनुभव

‘गौंथली’मा मदनकृष्ण श्रेष्ठ र डा.रिजालबिच मिलेको केमेष्ट्री, रोचक छ अनुभव

मदनकृष्णलाई ‘मास्टर’ बनाउने डा.रिजाल ‘गौंथली’को शोमार्फत दंग

काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ सँगै दर्शकको उल्लेख्य उपस्थितिका कारण अधिकांश हलहरूले सुरुवाती तालिकाभन्दा शो संख्या बढाएका छन् ।

शुक्रबारको तुलनामा शनिबार थप शो पाएको चलचित्रका ती अतिरिक्त शोहरू पनि भरिएपछि शनिबार साँझदेखि नै प्रदर्शन संख्या थपिएको निर्देशक तथा निर्माता डा. कपिल रिजाल बताउँछन् ।

तर ‘गौँथली’ केवल एउटा चलचित्र मात्र होइन, निर्देशक डा.रिजालका लागि यो पुस्तौंदेखि बग्दै आएको कला, साहित्य र संस्कृतिप्रतिको मोहको निरन्तरता पनि हो ।

निर्देशक डा. रिजालका अनुसार कला र साहित्यप्रतिको आकर्षण आफूभित्र एकाएक पैदा भएको होइन । हजुरबुवा साहित्यकार, पिता वरिष्ठ चिकित्सक डा. भोला रिजाल साहित्य, संगीत र चलचित्रमा सक्रिय रहनु, घरमै सिर्जनात्मक वातावरण हुनु यिनै कुराले बाल्यकालदेखि उनलाई अभिनय र कथाप्रति आकर्षित गरायो ।

उनी सम्झिन्छन्, ‘सानो हुँदा हामी तन्नाको पर्दा बनाएर नाटक खेल्थ्यौँ । बुवा र हजुरबुवालाई टिकट काटेर देखाउँथ्यौँ । अहिले फर्केर हेर्दा त्यो हाम्रो प्रतिभालाई प्रोत्साहन गर्ने उहाँहरूको तरिका रहेछ ।’

विद्यालय, कलेज हुँदै चिकित्सा अध्ययनका क्रममा पनि उनले छोटा चलचित्र, म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिए । पेशाले दन्त चिकित्सक भए पनि सिर्जनाको हुटहुटी कहिल्यै रोकिएन ।

डा. रिजालका चलचित्रमा स्वास्थ्य, शिक्षा र सामाजिक विषय किन बारम्बार आउँछन् भन्ने प्रश्नको उत्तर पनि उनको जीवन अनुभवमै भेटिन्छ ।

उनका अनुसार आफू त्यही परिवेशमा हुर्किएकाले कथा पनि त्यहीँबाट जन्मिन्छन् । ‘यदि म बैंकरको छोरो भएको भए बैंकिङका कथा भन्न सक्थेँ होला। हामी स्वास्थ्य र शिक्षाको वातावरणमा हुर्कियौँ । त्यसैले ती विषय हाम्रो सिर्जनाको केन्द्रमा आउँछन्,’उनी भन्छन् ।

उनका लागि स्वास्थ्य र शिक्षा हरेक नेपालीको आधारभूत अधिकार हुन् । त्यही विश्वासले उनका कथाहरूलाई सामाजिक संवेदनासँग जोड्ने गर्छ ।

उनी भन्छन्, ‘कुनै पनि फिल्ममा केही न केही इस्यू हुन्छ र त्यसको समाधान खोजिन्छ । स्वास्थ्य र शिक्षा सुरुदेखिकै महत्वपूर्ण विषय हुन्, हामी त्यही वातावरणमा हुर्कियौँ । अब म बैंकरको छोरो भएको भए सायद बैंकिङका कथा भन्थेँ होला । तर हामी त्यसो भएनौँ । नेपालजस्तो देशमा स्वास्थ्य र शिक्षा आधारभूत कुरा हुन् । त्यो कसैबाट वञ्चित भएको देख्न सक्दैनौँ । हरेक नेपालीको जन्मसिद्ध अधिकार हुनुपर्छ भन्ने हाम्रो विश्वास हो ।’

यसअघि ‘ह्यारी कि प्यारी’ निर्देशन गरिसकेका रिजालले यसपटक फरक बाटो रोजे । उनी दर्शकसँग भावनात्मक रूपमा जोडिने, समय बिते पनि सान्दर्भिक रहने नेपाली कथा भन्न चाहन्थे ।

त्यसै क्रममा करिब २५ वर्षअघि उनका पिता डा. भोला रिजालले बनाएको ‘गौँथली’बाट प्रेरित हुँदै नयाँ पुस्ताका लागि आधुनिक प्रविधिसहित पुनः व्याख्या गरिएको संस्करण तयार गरियो ।

उनका अनुसार चलचित्रको उद्देश्य नेपाली भाषा, संस्कृति, भेषभूषा, संगीत र गाउँको जीवनलाई आधुनिक सिनेमाटिक प्रस्तुतीमार्फत समयभन्दा पर टिक्ने कृतिका रूपमा स्थापित गर्नु हो ।

चलचित्रको अर्को विशेषता यसको कास्टिङ हो । निर्देशकका अनुसार उनीहरूलाई चर्चित अनुहारभन्दा पात्रमा हराउन सक्ने कलाकार आवश्यक थियो ।

मुख्य भूमिकामा सिम्रन पन्तलाई रोज्नुको कारण पनि यही थियो । दर्शकले अभिनेत्रीलाई होइन, ‘गौँथली’ पात्रलाई देखून् भन्ने उद्देश्य राखिएको थियो ।

त्यस्तै, अभिनेता अरुण क्षेत्रीलाई पनि अभिनय क्षमताका आधारमा चयन गरिएको निर्देशक बताउँछन् । ‘महापुरुष’ पछि केही समय पर्दाबाट टाढा रहेका अरुणले यस चलचित्रमार्फत फरक भूमिका निर्वाह गरेका छन् ।

यसअघि ‘ह्यारी कि प्यारी’ निर्देशन गरेका रिजालले यसपटक भने दर्शकसँग गहिरो भावनात्मक सम्बन्ध गाँस्ने, नेपाली माटो र संस्कृतिसँग जोडिएको कथा भन्ने उद्देश्यले ‘गौँथली’ निर्माण गरेको बताउँछन् ।

 उनका अनुसार करिब २५ वर्षअघि पिता डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’बाट प्रेरित हुँदै अहिलेको पुस्ताका लागि आधुनिक प्रविधि र नयाँ प्रस्तुतीमा चलचित्रलाई पुनः सिर्जना गरिएको हो ।

उनी भन्छन्, ‘मलाई के लाग्यो भने, अब एउटा यस्तो फिल्म बनाऔँ, नेपाली माटोमा उभिएको, नेपालीपन बोकेको, जुन आजभन्दा २५ वर्षपछि पनि हेर्दा उत्तिकै सान्दर्भिक लागोस् । टेक्निकल रूपमा अहिलेको ताजा प्रविधि प्रयोग गरौँ, तर कथा र आत्मा नेपाली नै रहोस् भन्ने सोच आयो । त्यसैले विभिन्न कथाहरू खोज्दै जाँदा ‘गौँथली’ नै किन नबनाउने भन्ने निर्णयमा पुग्यौँ । अहिलेको दर्शकले बुझ्ने शैलीमा, अहिलेको समयसँग मेल खाने गरी यसलाई परिमार्जन गर्यौं । हाम्रो उद्देश्य नेपाली भाषा, संस्कृति, भेषभूषा, संगीत र नेपाली माटोको सुगन्ध बोकेको एउटा टाइमलेस फिल्म बनाउनु हो ।’

‘गौँथली’को केन्द्रमा रहेको अर्को महत्वपूर्ण विषय भनेको फरक क्षमताका व्यक्तिप्रतिको समाजको दृष्टिकोण हो ।

चलचित्रमा यस्तो पात्रलाई प्रस्तुत गर्नुअघि टोलीले विस्तृत अध्ययन गरेको निर्देशक बताउँछन् । केही अभिभावकसँग परामर्श गरियो, कलाकारहरूले प्रत्यक्ष अवलोकन गरे र पात्रलाई सम्मानजनक ढंगले प्रस्तुत गर्ने प्रयास गरियो ।

यसको प्रभाव अहिले हलसम्म देखिएको छ। चलचित्र हेरेपछि धेरै अभिभावकले आफ्ना अटिजम भएका बालबालिकाको अनुभव सुनाउँदै चलचित्रले उनीहरूलाई सम्मानपूर्वक प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।

डा. रिजालका अनुसार समाजले फरक क्षमता भएका व्यक्तिलाई फरक दृष्टिले हेरे पनि उनीहरू धेरै निष्कपट हुन्छन् । ‘उहाँहरू मनमा लागेको कुरा खुला रूपमा भन्नुहुन्छ, खुसी हुँदा खुलेर हाँस्नुहुन्छ, रिसाए पनि धेरैबेर मनमा राख्नुहुन्न । त्यो निष्कपटता नै हामीले पर्दामा उतार्ने प्रयास गरेका हौँ,’ उनी भन्छन् ।

‘गौँथली’ केवल एउटा सामाजिक सन्देश बोकेको चलचित्र मात्र होइन । यसमा प्रेम, संघर्ष, बालविवाह, पारिवारिक सम्बन्ध र आत्मस्वीकृतिका अनेक तह समेटिएका छन् ।

निर्देशक रिजालका अनुसार चलचित्रको कुनै एउटा दृश्यलाई मात्र उत्कृष्ट भन्न सकिँदैन । सम्पूर्ण कथा, पात्रहरूको अभिनय, छायांकन र संगीतले समग्र अनुभव निर्माण गर्छ ।

चलचित्रको व्यवसायिक सफलताबारे सोध्दा निर्देशक रिजालको दृष्टिकोण स्पष्ट छ । उनका लागि बक्स अफिसभन्दा महत्वपूर्ण दर्शकको मन जित्नु हो ।

उनी भन्छन्, ‘धेरै टिकट बिक्री हुनु भनेको धेरै दर्शकले चलचित्र हेर्नुभयो भन्ने हो । तर त्यसले चलचित्र मन पराउनुभयो कि पराउनुभएन भन्ने मापन गर्दैन ।’

उनी उदाहरण दिँदै पुराना क्लासिक नेपाली चलचित्रहरूको चर्चा गर्छन्, जसको मूल्य आज पनि कमाइका आधारमा होइन, कलात्मक उचाइका आधारमा गरिन्छ ।

नेपालभर करिब २०० स्क्रिनमा प्रदर्शन भइरहेको ‘गौँथली’ अब अन्तर्राष्ट्रिय प्रदर्शनको तयारीमा पनि छ । अमेरिकामा साउन २४ गतेदेखि, त्यसपछि मध्यपूर्व, बेलायत र अस्ट्रेलियामा पनि चलचित्र प्रदर्शन हुँदैछ ।

विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै निर्देशकको अपेक्षा छ—यो चलचित्रले उनीहरूलाई केवल दृश्य मात्र होइन, नेपालीपनको सुगन्ध नै अनुभूति गराउनेछ ।

‘हामीले एउटा यस्तो चलचित्र बनाएका छौँ, जहाँ नेपाली संस्कृति, संगीत, गाउँघर, सम्बन्ध र भावना सबै जीवित छन् । यो नेपालीले गर्व गर्न सक्ने चलचित्र हो,’ निर्देशक कपिल रिजालको विश्वास छ ।

यसैगरी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘गौँथली’ले मनोरञ्जनसँगै छोरीहरूको शिक्षा, बालविवाह र अटिजमप्रति समाजको दृष्टिकोण परिवर्तन गर्ने सशक्त सन्देश दिएको बताए ।

चलचित्रमा शिक्षकको भूमिकामा देखिएका श्रेष्ठले निर्देशक तथा निर्माता डा. कपिल रिजालसँग आफ्नो परिवारकै जस्तो आत्मीय सम्बन्ध रहेको बताउँदै, उहाँकै आग्रहमा चलचित्रमा अभिनय गरेको सुनाए ।

‘डा. कपिल रिजालसँग हाम्रो सम्बन्ध उहाँका बुवाकै पालादेखिको हो । उहाँहरूको परिवारसँग निकै आत्मीयता छ । फिल्मका लागि सम्झिनुभयो, त्यसका लागि धन्यवाद,’ उनले भने ।

स्वास्थ्य अवस्थाले पहिलेजस्तो सक्रिय हुन नसके पनि आफूले निर्वाह गरेको शिक्षकको भूमिका अर्थपूर्ण रहेको उनको भनाइ छ । वास्तविक जीवनमा पनि १४ वर्षको उमेरमै प्राथमिक विद्यालयको प्रधानाध्यापक भएर पढाएको अनुभव सुनाउँदै उनले त्यसले पात्र बुझ्न सहज भएको बताए ।

‘मैले नौ कक्षामा पढ्दै गर्दा प्राथमिक विद्यालयमा हेडमास्टर भएर पढाएको थिएँ । त्यसैले शिक्षकको पात्रसँग मेरो आफ्नै अनुभव जोडिएको छ,’ उनले भने ।

चलचित्रले ग्रामीण समाजमा छोरीहरूको शिक्षाभन्दा कम उमेरमै विवाह गरिदिने प्रवृत्तिलाई यथार्थ रूपमा प्रस्तुत गरेको उनको भनाइ छ ।

‘गाउँमा अझै पनि धेरै छोरीहरूले पढ्ने अवसर पाएका छैनन् । आठ कक्षासम्म पढाएर विवाह गरिदिने चलन अहिले पनि धेरै ठाउँमा छ । राम्रो घर परे ठीकै हुन्छ, नराम्रो परे छोरीको जीवन नै बर्बाद हुन सक्छ । चलचित्रले यही यथार्थलाई प्रभावकारी ढंगले देखाएको छ,’ श्रेष्ठले भने ।

उनका अनुसार विवाहपछि महिलाले आफ्नो पढाइ, कला र व्यक्तिगत सपना पूरा गर्न कति कठिन हुन्छ भन्ने विषय पनि चलचित्रले संवेदनशील रूपमा उठाएको छ ।

‘कसैलाई गीत गाउने रहर हुन्छ, कसैलाई नाच्ने । तर विवाहपछि त्यो अवसर नपाउन पनि सक्छन् । त्यसैले छोरीहरूलाई पढाउनुपर्छ, आत्मनिर्भर बनाउनुपर्छ भन्ने सन्देश चलचित्रले दिन्छ,’ उनले भने ।

श्रेष्ठले चलचित्रको अर्को महत्वपूर्ण पक्ष अटिजम भएका पात्रको प्रस्तुति रहेको उल्लेख गरे । समाजमा अटिजम भएका व्यक्तिलाई अझै पनि सही रूपमा नबुझ्ने अवस्था रहेको भन्दै चलचित्रले त्यसप्रति सचेतना फैलाउने विश्वास व्यक्त गरे ।

‘अटिजम भएका व्यक्तिलाई धेरैले बुझ्दैनन् । कहिलेकाहीँ उनीहरूले कुरा नबुझ्दा वा फरक व्यवहार गर्दा दुव्र्यवहारसमेत सहनुपर्छ । ‘गौँथली’ले त्यसलाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरेको छ,’ उनले भने ।

मुख्य अभिनेत्री सिम्रन खड्काको अभिनयको पनि उनले खुलेर प्रशंसा गरे ।

‘सिम्रनले निकै स्वाभाविक अभिनय गरेकी छन् । भावुक दृश्यहरूमा उनको अभिव्यक्ति अत्यन्त प्रभावशाली छ । अटिजम भएको पात्रको अभिनय पनि उत्तिकै उत्कृष्ट लागेको छ,’ उनले भने ।

श्रेष्ठका अनुसार ‘गौँथली’ नेपाली समाज, संस्कृति र जीवनशैलीसँग जोडिएको चलचित्र हो, जहाँ मनोरञ्जनसँगै शिक्षा र सामाजिक चेतनाको सन्तुलित प्रस्तुति छ ।

‘यो शुद्ध नेपाली कथा हो । स्क्रिप्ट, संवाद, दृश्य संयोजन सबै निकै सन्तुलित छन् । दर्शकले एकपटक हेर्नैपर्ने चलचित्र बनेको छ । मनोरञ्जन पनि हुन्छ, समाजका महत्वपूर्ण विषयबारे सोच्ने अवसर पनि मिल्छ,’ उनले भने ।

दर्शकलाई छुट्टै आग्रह गर्न आवश्यक नरहेको उल्लेख गर्दै उनले चलचित्र हेरेका दर्शक नै यसको सबैभन्दा ठूलो प्रचारक बन्ने विश्वास व्यक्त गरे ।

‘राम्रो चलचित्रलाई दर्शक आफैंले अर्को दर्शकसम्म पुर्याउँछन् ‘गौँथली’ पनि त्यही किसिमको चलचित्र हो भन्ने मेरो विश्वास छ,’ उनले भने ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्