कांग्रेस ‘बीपीवाद’बाट विचलित, अब वैचारिक पुनर्जागरण आवश्यक : गुरु बराल

News Portal Team राजनीति
कांग्रेस ‘बीपीवाद’बाट विचलित, अब वैचारिक पुनर्जागरण आवश्यक : गुरु बराल

गुरु बराल : कांग्रेस नेता

कांग्रेस ‘बीपीवाद’बाट विचलित, अब वैचारिक पुनर्जागरण आवश्यक : गुरु बराल

‘बीपीलाई सम्झिने होइन, राज्य सञ्चालनमा उहाँको विचार लागू गर्ने बेला आयो’ : गुरु बराल

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी आफ्नो मूल वैचारिक धरातल ‘बीपीवाद’बाट क्रमशः विचलित हुँदै गएको टिप्पणी गरेका छन् । ४४ औं बीपी स्मृति दिवसको सन्दर्भमा नेपाल न्यूज बैंकले गरेको कुराकानीमा उनले कांग्रेसले अब केवल बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गर्ने परम्परामा सीमित नरही उनको राजनीतिक दर्शनलाई पुनर्जीवित गर्नुपर्ने बताएका हुन् ।

बरालका अनुसार कांग्रेसले शान्ति प्रक्रिया, सत्ता साझेदारी र राजनीतिक सम्झौताका क्रममा बीपी कोइरालाले प्रतिपादन गरेका धेरै मूल्य–मान्यता व्यवहारमा कमजोर बनायो । त्यो तत्कालीन परिस्थितिको आवश्यकता हुन सक्ने स्वीकार गर्दै उनले अब भने पार्टी वैचारिक पुनरागमनको चरणमा प्रवेश गर्नुपर्ने बताए ।

उनका अनुसार आगामी १५औं महाधिवेशन कांग्रेसका लागि नेतृत्व चयनको मात्र होइन, वैचारिक पुनर्जागरणको अवसर पनि हो । ‘हामीले बीपीवादलाई पार्टीको नीति, घोषणापत्र र संगठनभित्र पुनःस्थापित गर्न सकेनौं भने कांग्रेसको पहिचान नै संकटमा पर्न सक्छ,‘ उनले भने ।

बरालले बीपीको समाजवादलाई आजको सन्दर्भमा पुनःव्याख्या गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार अहिले कांग्रेसभित्र पनि निजीकरण र खुला बजारलाई अत्यधिक प्राथमिकता दिने प्रवृत्ति बढेको छ, जसले सामाजिक लोकतन्त्रको मर्म कमजोर बनाइरहेको छ ।

उनले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र आवासजस्ता आधारभूत सेवामा राज्यको भूमिका बलियो हुनुपर्नेमा जोड दिए । ‘बीपीले निजी क्षेत्रलाई अस्वीकार गर्नुभएको होइन, तर जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा राज्यको दायित्व अपरिहार्य हुन्छ भन्ने मान्यता राख्नुभएको थियो,‘ उनले बताए ।

बरालले वर्तमान सरकारको आर्थिक नीतिप्रति पनि असन्तुष्टि जनाए । चुनावअघि सामाजिक लोकतन्त्रको पक्षमा उभिएका राजनीतिक शक्तिहरू सरकारमा पुगेपछि शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोगसँग जोडिएका क्षेत्रमा करको भार बढाएको भन्दै उनले त्यसलाई वैचारिक विचलनको उदाहरणका रूपमा प्रस्तुत गरे ।

उनका अनुसार जनताले परिवर्तनको आशामा मत दिए पनि सरकारका प्राथमिकतामा गरिब र निम्न आय वर्गभन्दा बजारमुखी नीति हाबी देखिएको छ । ‘राज्यले कमजोर वर्गलाई राहत दिनुपर्ने बेला थप आर्थिक बोझ सिर्जना गर्नु सामाजिक लोकतन्त्रको मर्मविपरीत हो,‘ उनले भने ।

बरालले लोकतन्त्रको वर्तमान अभ्यासप्रति पनि प्रश्न उठाए । सामाजिक सञ्जालमा देखिने लोकप्रियता वा राजनीतिक उत्तेजनालाई आधुनिक लोकतन्त्र भन्न नमिल्ने उनको तर्क छ । लोकतन्त्रको वास्तविक उद्देश्य प्रत्येक नागरिकलाई सम्मानजनक जीवन, समान अवसर र स्वतन्त्रताको प्रत्याभूति गराउनु भएको उनको भनाइ छ ।

‘बीपीको लोकतन्त्र भनेको कसैको अधिकारमाथि अतिक्रमण नगरी सबै नागरिकले समान अवसर पाउने व्यवस्था हो । राज्यले न्यूनतम जीवनस्तर सुनिश्चित गर्नुपर्छ भन्ने दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ,‘ उनले बताए ।

उनले कांग्रेसले आफ्नो वैचारिक स्पष्टता पुनःस्थापित गर्न नसके नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै जाने चेतावनी पनि दिए । उनका अनुसार पार्टीले अब कार्यकर्तादेखि जनतासम्म बीपीका विचारबारे व्यापक बहस सुरु गर्नुपर्छ । त्यसपछि मात्रै त्यसलाई घोषणापत्र, नीति र भविष्यको संवैधानिक सुधारसँग जोड्नुपर्ने उनको धारणा छ ।

बरालले बीपी कोइरालालाई आधुनिक नेपालको लोकतान्त्रिक यात्राको प्रमुख वैचारिक आधारशिला भन्दै उनको विचार समयसँगै अझ परिष्कृत हुँदै जाने बताए । ‘बीपीलाई सम्झिने मात्र होइन, उहाँका विचारलाई राज्य सञ्चालनको आधार बनाउन सकियो भने मात्रै लोकतन्त्र, राष्ट्रियता र सामाजिक न्याय बलियो बन्न सक्छ,‘ उनले भने ।

बीपी स्मृति दिवसको सन्दर्भमा आएको बरालको अभिव्यक्तिले कांग्रेसभित्र वैचारिक बहस फेरि सुरु गर्ने संकेत दिएको छ । विशेषगरी आगामी महाधिवेशनको तयारी चलिरहेका बेला पार्टीले संगठनभन्दा बढी विचारलाई केन्द्रमा राख्नुपर्ने उनको सन्देश कांग्रेसभित्रको वैचारिक बहसलाई थप तीव्र बनाउने देखिन्छ ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्