नेपालमा मोबाइल व्यवसाय : एमडीएमएस, न्यून मार्जिन र साइबर सुरक्षा मुख्य चुनौती

News Portal Team अन्य
नेपालमा मोबाइल व्यवसाय : एमडीएमएस, न्यून मार्जिन र साइबर सुरक्षा मुख्य चुनौती

नेपालमा मोबाइल व्यवसाय : एमडीएमएस, न्यून मार्जिन र साइबर सुरक्षा मुख्य चुनौती

आकांक्षा धामी, नेपाल न्यूज बैंक

काठमाडौं । नेपालमा मोबाइल व्यवसाय तुलनात्मक रूपमा ठीक अवस्थामा रहे पनि अवैध मोबाइलको कारोबार, न्यून मार्जिन, भन्सार छली तथा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ढिलाइलगायतका कारण व्यवसायीले चुनौती सामना गरिरहेका छन् ।

व्यवसायीहरूले अवैध रूपमा भित्रिने मोबाइल नियन्त्रण गर्न एमडीएमएस तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले पछिल्लो समय मोबाइलको मूल्य निरन्तर बढिरहेको बताए । उनका अनुसार पछिल्लो चार–पाँच महिनामै कतिपय मोबाइल मोडलको मूल्य झन्डै दोब्बरसम्म पुगेको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘मोबाइलको मूल्य दिनानुदिन बढिरहेको छ । कतिपय मोडलमा चार–पाँच महिनामै मूल्य झन्डै दोब्बर भएको अवस्था छ । अर्कोतर्फ बजार र समग्र अर्थतन्त्र सुस्त भएकाले व्यवसाय पनि दिनानुदिन खस्किँदै गएको छ ।’

घिमिरेका अनुसार मोबाइलको मूल्य वृद्धिको एउटा प्रमुख कारण चिपसेटको मूल्य बढ्नु हो । विद्युतीय सवारीसाधन (ईभी) र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा चिपसेटको माग बढ्दा आपूर्ति प्रभावित भएको र त्यसको असर मोबाइललगायत चिपसेट प्रयोग हुने अन्य उपकरणमा परेको व्यवसायीहरूले बताउँदै आएका छन् ।

उनले भने, ‘अहिले इभी गाडी र एआईले गर्दा मोबाइलमा लाग्ने चिपसेटहरुको सर्टेजको कारणले मूल्य ह्वात्तै बढेको छ । मोबाइल सेट र चिपसेट लाग्ने कुनै पनि सामानहरुको मूल्य अहिले वृद्धि भएको अवस्था छ । सत्यतथ्य अझै आइसकेको छैन तर मूल्य बढ्दा त्यसको असर व्यवसायमा पर्न जान्छ ।’

यद्यपि, चिपसेटको मूल्य कति बढेको हो र त्यसको प्रत्यक्ष प्रभाव मोबाइलको मूल्यमा कति परेको हो भन्नेबारे आधिकारिक तथ्यांक भने आफूहरूसँग नरहेको घिमिरेले बताए ।

उनका अनुसार चीनमा चिपसेट उत्पादनका लागि ठूला प्लान्ट निर्माण भइरहेकाले उत्पादन र आपूर्ति सहज नभएसम्म मूल्यवृद्धिको दबाब कायमै रहने सम्भावना छ । व्यवसायीहरूका अनुसार यसको प्रभाव सन् २०२८ सम्म रहन सक्ने अनुमान गरिएको छ ।

चार तहको व्यवसायिक संरचना

घिमिरेले नेपालमा मोबाइल व्यवसाय चार तहमा सञ्चालन भइरहेको बताए । उनका अनुसार कम्पनीका प्रतिनिधि वा एजेन्ट, मोबाइल आयातकर्ता, वितरक र खुद्रा व्यवसायी गरी चार तहको संरचना रहेकाले प्रत्येक तहमा फरक–फरक मार्जिन कायम हुने गरेको छ ।

उनले खुद्रा व्यवसायीको मार्जिन भने पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा घटेको बताए । उनका अनुसार चार–पाँच वर्षअघि खुद्रा व्यवसायीले २० देखि २५ प्रतिशतसम्म मार्जिन पाउने गरेकोमा अहिले ४ देखि ५ प्रतिशतमा सीमित भएको छ ।

‘पहिले २०–२५ प्रतिशतसम्म मार्जिन हुने व्यवसाय अहिले ४–५ प्रतिशत मार्जिनमा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । खुद्रा व्यवसायीका लागि यो निकै कठिन अवस्था हो,’ उनले भने ।

एमडीएमएस तत्काल कार्यान्वयन गर्न माग

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनका लागि आफूहरूले पाँच–सात वर्षदेखि सरकारसँग निरन्तर पहल गर्दै आएको घिमिरेले बताए ।

एमडीएमएस लागू भएमा भन्सार छली तथा अवैध बाटोबाट नेपाल भित्रिने मोबाइल नियन्त्रण हुनुका साथै राज्यको राजस्व वृद्धि र बजारमा स्वस्थ प्रतिस्पर्धा कायम हुने उनको भनाइ छ ।

‘एमडीएमएस लागू नहुँदा भन्सार छली गरेर ल्याइएका मोबाइल बजारमा आइरहेका छन् । त्यसले गर्दा कानुनी रूपमा व्यवसाय गर्ने व्यवसायीलाई अस्वस्थ प्रतिस्पर्धाको सामना गर्नुपरेको छ,’ उनले भने। उनले एमडीएमएस लागू गर्न सरकारले ढिलाइ गर्नुको कारणबारे आफूहरूलाई स्पष्ट जानकारी नभएको बताए ।

भन्सार तथा कर प्रणालीमा एकरूपता आवश्यक

घिमिरेले मोबाइल व्यवसायलाई सहज बनाउन भन्सार तथा कर प्रणालीमा एकरूपता र पारदर्शिता आवश्यक रहेको बताए ।

उनका अनुसार सरकारले बजारका खुद्रा व्यवसायीलाई मात्र कर प्रणालीमा कडाइ गर्नुभन्दा पहिले भन्सारबाटै हुने चोरीपैठारी तथा अन्डरबिलिङ नियन्त्रण गर्नुपर्छ ।

‘मुख्य स्रोतबाटै सामानको आयात र भन्सार प्रक्रिया स्पष्ट हुनुपर्छ । मुहानमै समस्या समाधान नगरी बजारको तल्लो तहमा मात्रै कडाइ गर्दा व्यवसायी थप समस्यामा पर्छन्,’ उनले भने ।

अवैध मोबाइल कारोबार मुख्य चुनौती

नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठीले मोबाइल व्यवसायको अवस्था अन्य व्यवसायको तुलनामा ठीकै रहेको बताए । तर, अवैध मोबाइलको बिक्री वितरणका कारण व्यवसायी र उपभोक्ता दुवै प्रभावित भएको उनको भनाइ छ ।

उनका अनुसार वैधानिक रूपमा कर तिरेर मोबाइल आयात तथा बिक्री गर्ने व्यवसायीको तुलनामा कर नतिरी अवैध रूपमा मोबाइल भित्र्याउने व्यवसायीले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरिरहेका छन् ।

‘हामी राज्यलाई कर तिरेर सामान आयात गरी बिक्री वितरण गर्छौं । तर अवैध कारोबार गर्नेहरूले कर नतिरी मोबाइल भित्र्याएर बिक्री गर्दा समस्या भइरहेको छ,’ त्रिपाठीले भने ।

उनले नेपाल–भारत खुला सीमाका कारण भारतबाट ठूलो मात्रामा अवैध मोबाइल नेपाल भित्रिने गरेको बताए । एमडीएमएस कार्यान्वयन भएमा यस्ता अवैध मोबाइलको कारोबार नियन्त्रण हुने उनको भनाइ छ ।

एमआरपीले उपभोक्ता संरक्षणमा सहयोग

त्रिपाठीका अनुसार मोबाइल बिक्रीमा कम्पनीहरूले खुद्रा व्यवसायीलाई निश्चित मार्जिन उपलब्ध गराउँदै आएका छन् । साथै, उपभोक्तालाई एउटै मूल्यमा मोबाइल उपलब्ध गराउने उद्देश्यले अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको उनले बताए ।उनका अनुसार अहिले मोबाइलको बट्टामै एमआरपी उल्लेख भएर आउने भएकाले उपभोक्ता ठगिने सम्भावना कम भएको छ ।

‘एमआरपी अनिवार्य भएपछि उपभोक्तालाई एउटै मूल्यमा सामान उपलब्ध गराउन सहज भएको छ । यसले उपभोक्ता ठगिने सम्भावना पनि कम गरेको छ,’ उनले भने ।

त्रिपाठीले मोबाइल व्यवसायका अन्य चुनौतीमा उधारो कारोबार, विश्व बजारमा मोबाइलको मूल्य वृद्धि, अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढाव तथा आयातमा देखिने समस्या रहेको बताए ।

उनले भने, ‘अहिले मोबाइल व्यवसायमा उधारो कारोबार पनि एउटा चुनौती हो । उधारोमा सामान दिँदा समयमै बिक्री नहुने र भुक्तानीमा समस्या आउने गरेको छ । त्यस्तै, विश्व बजारमै मोबाइलको मूल्य बढिरहेको छ । डलरको मूल्य बढ्दा नेपालमा आयात हुने मोबाइलको लागत पनि बढ्छ । नेपालमा मोबाइल उत्पादन नहुने भएकाले विदेशबाट आयात गर्नुपर्ने हुँदा यस्ता कारणले मोबाइलको मूल्यमा उतारचढाव आउने गरेको छ ।’उनका अनुसार नेपालमा मोबाइल उत्पादन नहुने भएकाले विदेशबाट आयात गर्नुपर्ने र डलरको मूल्य बढ्दा मोबाइलको लागतसमेत बढ्ने गरेको छ ।

मोबाइललाई अत्यावश्यक वस्तुको श्रेणीमा राख्न माग

त्रिपाठीले मोबाइललाई अहिलेको समयमा अत्यावश्यक वस्तुका रूपमा लिनुपर्ने बताए । उनका अनुसार मोबाइल नेपालमा बिक्री नभए पनि उपभोक्ताले अन्य माध्यमबाट ल्याएर प्रयोग गर्ने भएकाले वैधानिक व्यापारिक च्यानललाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ ।

मोबाइल आयात तथा बिक्रीबाट सरकारले भन्सार, आयकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त गर्ने भएकाले यसले अर्थतन्त्रमा योगदान पुर्याइरहेको उनको भनाइ छ ।

उनले भने, ‘मोबाइल अहिलेको समयमा अत्यावश्यक वस्तु बनिसकेको छ । नेपालमा वैधानिक रूपमा मोबाइल आयात गरेर बिक्री वितरण गरिएन भने पनि उपभोक्ताले कुनै न कुनै माध्यमबाट मोबाइल ल्याएर प्रयोग गर्नुहुन्छ । त्यसैले वैधानिक व्यापारिक च्यानललाई प्रोत्साहन गर्नुपर्छ । मोबाइल आयात तथा बिक्रीबाट राज्यले भन्सार, आयकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त गरिरहेको छ । त्यसकारण मोबाइल व्यवसायले राज्यको अर्थतन्त्रमा पनि योगदान पुर्याइरहेको छ ।’

भन्सार छली र रिफर्बिस्डको चुनौति

नेपाल मोबाइल वितरक संघका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योले समग्र व्यवसाय सुस्त भए पनि मोबाइल व्यवसाय तुलनात्मक रूपमा राम्रो रहेको बताए ।

उनका अनुसार एमडीएमएस कार्यान्वयन, न्यून मार्जिन र साइबर सुरक्षा सचेतनाका विषय अहिले व्यवसायीका प्रमुख चासोका विषय हुन् ।

चुल्याड्योले मोबाइल व्यवसायमा कम्पनीले निश्चित मार्जिन तोक्ने र त्यसपछि खुद्रा तथा अन्य विक्रेताले आफ्नो व्यवसायिक संरचनाअनुसार मार्जिन निर्धारण गर्ने बताए ।

उनले भने, ‘समग्र व्यवसाय नै सुस्ताइरहेको अवस्थामा मोबाइल व्यवसाय तुलनात्मक रूपमा ठिकै अवस्थामा छ । तर यसमा केही समस्या पनि छन् । विशेषगरी एमडीएमएसको कार्यान्वयन, न्यून मार्जिन र साइबर सुरक्षा सचेतनाका विषयमा हामी अहिले विशेष रूपमा केन्द्रित छौँ । मोबाइल व्यवसायमा कम्पनीले निश्चित मार्जिन तोकिदिएको हुन्छ । त्यसपछि खुद्रा तथा अन्य विक्रेताले आफ्नो व्यवसायिक संरचनाअनुसार कति मार्जिन राख्ने भन्ने निर्धारण गर्छन् ।’

उनले एमडीएमएस कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरण तथा सरकारी निकायसँग निरन्तर आग्रह गर्दै आएको बताए ।

विदेशबाट नेपाल फर्किने नेपालीलाई निश्चित सर्तमा एक थान मोबाइल फोन ल्याउन सरकारले सुविधा दिएकाले त्यसलाई सहज बनाइएको उनको भनाइ छ । मोबाइललाई अत्यावश्यक वस्तुको श्रेणीमा राखी हाल लाग्दै आएको भन्सार तथा अन्तःशुल्क घटाउन वा हटाउनसमेत व्यवसायीले माग गर्दै आएको उनले बताए ।

चुल्याद्योका अनुसार मोबाइल व्यवसायको सबैभन्दा ठूलो चुनौती भन्सार छली गरेर भित्रिने मोबाइल हो । चोरीका तथा रिफर्बिस्ड मोबाइल अवैध रूपमा बजारमा आउँदा उपभोक्ता ठगिनुका साथै सरकारले ठूलो मात्रामा राजस्व गुमाइरहेको उनले बताए ।

‘सरकारले अहिले भन्सारमा केही कडाइ गरेको छ । त्यसले सकारात्मक संकेत देखाएको छ । अब यसलाई अझ कडाइका साथ कार्यान्वयन गर्दै एमडीएमएस पनि लागू गर्नुपर्छ,’ उनले भने ।

व्यवसायीहरूले एमडीएमएसको प्रभावकारी कार्यान्वयन, अवैध मोबाइलको नियन्त्रण, भन्सार तथा कर प्रणालीमा सुधार र व्यवसायीका लागि स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

नेपालमा मोबाइल फोन आयात दिनहुँ बढिरहेको तथ्यांकले देखाएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउन महिनाको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा झै उल्लेख्य रुपमा बढेको देखिएको छ । यस अवधिमा ३ अर्ब ८७ करोड ७८ लाख २४ हजार रुपैयाँ बराबरको १ लाख ६९ हजार १८५ थान स्मार्टफोन आयात भएको हो। गत आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्म ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरको १ लाख ३८ हजार ३३३ थान स्मार्टफोन आयात भएको थियो।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्